© २०२३
५ असोज, विराटनगर। मोरङको पथरीमा ६० वर्षीय चन्द्रबहादुर तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। पथरीशनिश्चरे नगरपालिका–७, मायालु चोकका तामाङको शव शनिबार विहान हत्या गरिएको अवस्थामा भेटिएको हो, प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको बताएका छन्।
घरमा चन्द्रबहादुर र उनका ज्वाईं, २५ वर्षीय रविन राई बस्दै आएका थिए। घटनापछि रविन फरार भएको र अहिले उनको खोजी भइरहेको छ। चन्द्रबहादुरकी श्रीमती र छोरी वैदेशिक रोजगारीमा रहेको हुँदा, घरमा ससुरा-ज्वाईं मात्र बस्ने गरेका थिए। रविनको घर पनि ससुरालीको छेउमै छ।
प्रहरीका अनुसार, शुक्रबार राति मदिरा सेवनको क्रममा ससुरा-ज्वाईंबीच विवाद भएको थियो। शनिबार विहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।