© २०२३
ढोरपाटन, असोज ५ – बागलुङको निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको शुक्रबार राति चट्याङ लागेर निधन भएको छ। आफ्नै घरभित्र बसिरहेको समयमा चट्याङ पर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिएका छन्।
प्रहरीका अनुसार, राति १ बजे स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा घटना बारे जानकारी दिएका थिए। सूचना पाउँदै वरिष्ठ हवल्दार केशव बुढाथोकीको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थलमा उद्धारका लागि पुगेको थियो।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको नेतृत्वमा सात जनाको टोली खटिएको छ।
रजना बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ। चट्याङका कारण बुढाको घर र विद्युतीय उपकरणहरूमा क्षति पुगेको छ भने उनकी सासू र दुई वर्षीया छोरी सकुशल रहेका छन्।