© २०२३
काठमाडौं – नेपाली फिल्म ‘शाम्बाला’ यस वर्षको अस्कर अवार्डका लागि नेपालबाट आधिकारिक रूपमा सिफारिस भएको छ। अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले विज्ञप्ति जारी गर्दै यस निर्णयको जानकारी दिएको हो।
समितिका अनुसार आवेदन दिनको लागि तोकिएको म्यादभित्र ‘शाम्बाला’ एक्लो आवेदन परेको थियो, र यो फिल्मले अस्करका सबै मापदण्ड पूरा गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “फिल्मले प्राविधिक पक्ष, कथ्य प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक प्रस्तुतिमा उच्च स्तरको मान्यता प्राप्त गरेको छ, जसले गर्दा यो फिल्मलाई अस्करका लागि योग्य ठहराइएको हो।”
९७औं अस्कर अवार्ड मार्च ३, २०२५ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुनेछ। मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ अहिले नेपाली सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्मले पहिलो साता करिब डेढ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ।