© २०२३
काठमाडौं, असोज ५ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ का लागि खेलाडीको दर्ता प्रक्रिया सुरु गरेको छ। खेलाडीहरूले अनलाइन मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया असोज १२ गतेसम्म खुल्ला रहनेछ।
यस लिगको अक्सनमा तीन वर्गमा खेलाडीको वर्गीकरण हुनेछ – ए, बी, र सी ग्रेड। ए ग्रेडका खेलाडीहरूको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ, जसको उच्चतम सीमा १५ लाख रुपैयाँसम्म पुग्न सक्नेछ। यदि कुनै खेलाडीलाई १५ लाखभन्दा बढी मूल्यमा एक भन्दा बढी टोलीले दाबी गरेमा चिट्ठा थुतीनेछ।
बी ग्रेडका खेलाडीहरूको न्यूनतम मूल्य ५ लाख रुपैयाँ राखिएको छ, र उनीहरूको मूल्य १० लाख रुपैयाँसम्म पुग्न सक्नेछ। १० लाख भन्दा बढीको बोली लागेमा पनि चिट्ठा थुतीने व्यवस्था गरिएको छ। सी ग्रेडका खेलाडीहरूको न्यूनतम मूल्य २ लाख रुपैयाँ तोकिएको छ, जसको उच्चतम मूल्य ५ लाखसम्म पुग्नेछ।
खेलाडीहरूले दर्ताका लागि एक हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यस वर्षको नेपाल प्रिमियर लिग नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा आयोजना हुनेछ। लिगमा आठ टोलीहरू सहभागी हुनेछन्: काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम, र कर्णाली।