एआईजीको ५६ वर्षे उमेर हदका कारण श्यामलाल ज्ञवाली २६ भदौमा अनिवार्य अवकाश गएका थिए। उनी अवकाश गएपछि एक एआईजीको पद रिक्त छ। एआईजीको पदका लागि करिब एक दर्जन डीआईजी प्रतिस्पर्धामा छन्, जसमा बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य लगायतका डीआईजी समावेश छन्।
प्राविधिकतर्फको एआईजीको पद पनि रिक्त छ। नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी आशा सिंह १० साउनमा अवकाश गएको पद अहिलेसम्म खाली छ। यसका लागि डीआईजीहरू सुन्दरप्रसाद ह्योजु, सञ्जयविक्रम श्रेष्ठ र गोपेशकुमार ठाकुर प्रतिस्पर्धामा छन्।
नेपाल प्रहरीमा १ प्राविधिकसहित ८ एआईजीको दरबन्दी छ, जसमा हाल दुई एआईजी पद रिक्त छन्। प्रशासनतर्फ पनि चार डीआईजीको दरबन्दी खाली छ। एक डीआईजी रिक्त रहेको एआईजी पदमा बढुवा हुँदा पाँच डीआईजीको पद खाली हुनेछ। यसका लागि दुई दर्जनभन्दा बढी एसएसपी प्रतिस्पर्धामा छन्, जसमा धु्रवबहादुर राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलियालगायतका एसएसपी समावेश छन्।
प्राविधिकतर्फ पनि २ डीआईजीको पद रिक्त छ। एसएसपीमा ४ प्राविधिकसहित १६ जना, एसपीमा २ प्राविधिकसहित १४ जना, १ प्राविधिकसहित ३७ डीएसपी, र २९ प्राविधिकसहित ५४ इन्स्पेक्टरको दरबन्दी अहिले रिक्त छ।
प्रहरीमा हरेक वर्ष ६ साउनदेखि २२ असोजसम्म कासमू (कार्यसम्पादन मूल्यांकन) भर्ने चलन छ, जसले रिक्त पदमा असोज २२ पछि बढुवा सम्भावना बढाउँछ। यद्यपि, यस बीचमा पनि प्रहरीमा बढुवा भएका उदाहरणहरू छन्।