काठमाडौँ — श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक पासको प्रमाणपत्र संसदीय सुनुवाइ समितिले भेटेको छैन। भट्टराईको स्नातक प्रमाणपत्र नभेटिएपछि समिति सदस्यहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरिरहेका छन्।
सुनुवाइ समितिको बिहीबारको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले भट्टराईको स्नातक प्रमाणपत्र नभेटिएको अवस्थामा के गर्ने भनी समिति सदस्यहरूलाई छलफल गर्न भनेकी छन्। राजदूतमा अनुमोदन गर्दा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ विपरीत हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको छ।
निर्देशिकामा राजदूत पदमा नियुक्त हुनका लागि स्नातक पास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिकाको दफा ३ (छ) मा लेखिएको छ, ‘नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधी हासिल गरेको।’
समिति सदस्य श्यामकुमार घिमिरेले श्रीलंकाका लागि प्रस्तावित राजदूतको शैक्षिक प्रमाणपत्रका सम्बन्धमा प्रश्न उठाएपछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएका छन्।
साथै, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिनाको नाममा पनि अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल जारी छ।