© २०२३
असोज ३, २०८१ – प्रधानमन्त्री केपी शर्मा ओलीले हालको सरकारको प्रमुख एजेन्डा केवल कार्यान्वयन र काम गरेर देखाउनु भएको बताएका छन्। बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक अन्य कुनै मुद्दा नभएको बताएका छन्।
प्रधानमन्त्री ओलीले युवा पुस्तामा रहेका असीम ऊर्जा र उत्प्रेरणाको कदर गर्दै, “काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक यो सरकारको अर्को एजेन्डा छैन। संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारको अरू कुनै मुद्दा छैन,” भने।
विकासका लागि स्थायित्वको महत्त्व उल्लेख गर्दै उनले नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको बताए। “विकासका लागि स्थायित्व चाहिन्छ। राजनीति र नीतिमा स्थायित्व आवश्यक छ। राजनीतिमा स्थायित्व भनेको स्थिरता हो भने नीतिमा स्थायित्व भनेको निरन्तरता हो,” उनले भने।
संविधान संशोधनको प्रक्रियामा संसदको गणितीय सङ्ख्या मात्र हेर्ने नभइ सकेसम्म सबै दलको सहमति प्राप्त गर्न प्रयास गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, “संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एण्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाँउमा परिवर्तन गर्नु हो। यसमा सबै दलको सहमति प्राप्त गर्न हामी अधिकतम प्रयास गर्नेछौं।”
युवा पुस्तालाई सम्बोधन गर्दै उनले समाजलाई हुलमुल र अराजकताबाट जोगाउन आग्रह गरे। “तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला। अशिष्टहरूले समाजलाई मिच्न पाए भने विकास र सुशासन कायम गर्न कठिन हुने छ,” उनले भने।