© २०२३
काठमाडौं, ६ वैशाख । नेपालको निर्वाचन प्रणाली नै यस्तो भएको छ कि कसैको पनि बहुमत आउन मुश्किल पर्छ । समानुपातिक निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत ल्याउन कठिन हुने बनाइदिएको छ । अर्कोतर्फ, राजनीतिक अस्थिरता निरन्तर हुने अवस्था पनि बनेको छ ।
सरकार एक वर्ष टिक्न पनि हम्मे छ । सरकार बनेको एक वर्षमै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन तोडेका छन् । तर, फेरि नयाँ गठबन्धनको तयारी भित्र भित्र चलिरहेको छ ।
अहिले सत्तामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका अलावा विगत गठबन्धनका घटक दलहरु छन् । तर, कुनैपनि बेला ती घटक गठबन्धन परिवर्तन हुनसक्छन् ।
काँग्रेस र एमाले मिलेर सरकार बनाउने या फेरि प्रचण्डले काँग्रेससँग हातेमालो गरेर पुरानै गठबन्धन बनाउने सम्मको तयारी चलिरहेको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्ता राजनीतिको चलाख खेल चलिरहेका छन् । उनी सत्तामा भएपनि अहिलेको गठबन्धन विरोधी हुन् । माधव नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरिसकेका छन् । नेपाल आफै प्रधानमन्त्रीको दौडमा छन् ।
सत्ता राजनीतिमा कुनैपनि बेला उथलपुथल आउने सम्भावना यसकारण पनि बढिरहेको छ । कुनैपनि बेला प्रचण्डलाई साथ छाड्ने या प्रचण्डले पुरानै गठबन्धनमा फर्कने सम्भावना उत्तिकै छ ।