पार्टी महासचिव शंकर पोखरेलले जारी गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ अनुसार, कुनै पनि पार्टी कमिटीमा अधिवेशनका उम्मेदवारले प्यानलको निर्माण गर्न र प्रचार गर्ने अनुमति नपाउने व्यवस्था गरिएको छ।
“प्रत्येक उम्मेदवारले व्यक्तिगत रूपमा मतदातासमक्ष प्रस्तुत हुनु पर्नेछ। कसैले पनि प्यानल बनाएर प्रचार–प्रसार नगर्ने नियम लागू गरिएको छ,” कार्ययोजनामा उल्लेख गरिएको छ।
आगामी ११औं महाधिवेशनसम्म १० लाख सदस्यता पुर्याउने लक्ष्य तय गरिएको छ। यसका लागि जनसंगठन र सम्पर्क मञ्चका क्रियाशील व्यक्तिहरूलाई आधार मान्दै नयाँ सदस्यता विस्तारको योजना तयार गरिएको छ।
पार्टीले आगामी वर्षदेखि सदस्यता अभिलेखीकरण ‘अनलाइन’मार्फत गर्ने योजना बनाएको छ। पार्टी प्रवेश गर्नेलाई आधारभूत तहको प्रशिक्षण अनिवार्य हुनेछ, र जिल्ला कमिटीले सदस्यहरूको माग अनुसार ‘कार्ड’ मुद्रण गरी वितरण गर्ने व्यवस्था गरिएको छ।
पार्टीको विधान अनुसार, समयमै अधिवेशन सम्पन्न नगर्ने कमिटीहरू स्वतः संगठन कमिटीमा रूपान्तरण हुने व्यवस्था गरिएको छ। अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने सदस्यहरूलाई पनि पार्टी जिम्मेवारी दिने पूर्व आधारभूत प्रशिक्षण अनिवार्य गरिनेछ।
कार्ययोजनामा पार्टीका आर्थिक बक्यौता भएका व्यक्तिहरूलाई अधिवेशन र जननिर्वाचित निकायका उम्मेदवार बन्न नपाउने कडाइका साथ लागू गर्ने भनिएको छ। साथै, पार्टी तथा जनसंगठनका विभिन्न तहका नेताहरू र कार्यकर्ताहरूका आर्थिक, नैतिक, र चारित्रिक प्रश्नहरूको तुरुन्त अध्ययन गरी धारणा सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।