असोज ३, २०८१ – लोपोन्मुख राउटे समुदायका २२ वर्षीय युवक वृषबहादुर शाहीको निधन भएको छ।
छह महिना अघि बिरामी परेका शाहीलाई भदौ ३१ गते सुर्खेतको प्रदेश अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा गरिएको परीक्षणमा उनलाई सरूवा टिबी भएको पुष्टि भएको थियो। चिकित्सकले कलेजो र मुटुमा पनि ठूलो क्षति पुगेको बताएका थिए, जसका कारण थप उपचार सम्भव नभएको भन्दै अस्पतालले उनलाई डिस्चार्ज गरिदिएको थियो।
डिस्चार्ज भएपछि शाही दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै थिए। तर, सुर्खेतको कल्यान काँधमा बुधबार राति ९ बजेतिर उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले घटनाबारे जानकारी दिएका छन्।
शाहीलाई उपचारका लागि ल्याउन प्रयास गर्दा पनि राउटे समुदायका सदस्यहरूले शुरूमा सहयोग नगरेको, र अन्ततः उनका आमाबुबा पनि सहयोग गर्न नमान्दा उनलाई समयमा अस्पताल ल्याउन नसकिएको शिक्षक खत्रीले बताएका छन्।
वृषबहादुर शाही राउटे समुदायका कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन्। उनका निधनसँगै राउटे समुदायको जनसंख्यामा कमी आएको छ र अहिले यो संख्या १३४ पुगेको छ। २०७५ असारदेखि हालसम्म ४३ जनाको मृत्यु र ३१ जनाको जन्म भएको छ।