© २०२३
काठमाडौं, असोज ३ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठूला दलका नेताहरूलाई तीव्र आलोचना गर्दै संविधानलाई खेलौना बनाउन नदिने र वास्तविक समाजवादको पक्षमा जनजागरणको आह्वान गरेका छन्।
संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा खनालले भने, “ठूला भनिएका दलका व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेका छन्। संविधान बनेको ९ वर्ष बितिसक्दा पनि देशका श्रमजीवी र किसानको जीवनमा खासै परिवर्तन आएको छैन।”
उनले ठूला दलहरूको नेतृत्वको भ्रष्टाचार र विफलताप्रति प्रश्न उठाउँदै, “अखिर कहाँ बगेर गयो त्यत्रो बजेटको लगानी? मुठ्ठीभरका भ्रष्टाचारी र तस्करहरू अरबपति हुँदै गइरहेका छन्,” भने।
खनालले जनता महँगीको मारमा, युवा र विद्यार्थीहरू विदेश जान बाध्य भएको स्थितिको आलोचना गर्दै, “ठूला पार्टीहरूले दुई तिहाई बहुमत पाउँदा पनि काम गर्न नसकेको” बारेमा प्रश्न उठाए।
उनले संविधानको भाग ४ मा उल्लिखित कामहरूलाई सही तरिकाले लागू गर्न सकेमा देश अघि बढ्न सक्ने बताएका छन्। “देशमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संकट गहिरिदै गएको छ, र राष्ट्रियता माथिको संकट पनि चर्को बनेको छ,” उनले भने।
खनालले संविधानमा उल्लेखित समाजवादको खोजीमा रहेको जनताको आकांक्षालाई सम्बोधन गर्दै, “ठूला पार्टीका वक्तव्य र भाषणबाट समाजवाद गायब भइरहेको छ। यो वर्तमान भ्रष्ट प्रणालीको विकल्प खोज्ने समय हो,” उल्लेख गरे।
उनले एकीकृत समाजवादी पार्टीले नेपाली विशेषताको समाजवाद कार्यक्रम अघि सारेको बताए, जसले जनता, युवा र बौद्धिक क्षेत्रको ध्यान तानेको छ।
“संविधानलाई पश्चगमन तर्फ लानबाट रोक्न, ठूला पार्टीहरूको जनता झुक्याउने नीतिहरूको भण्डाफोर गर्न, र वास्तविक समाजवादको पक्षमा जनजागरण सृजनाका लागि खडा हुन आव्हान गर्दछु,” उनले सन्देशमार्फत भने।