३ असोज, काठमाडौं – संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना गरिएको छ। यो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, संविधान दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट अतिथिहरू पनि सहभागी भए।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बलले विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरे, जसको साथमा शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो।
राष्ट्रपति पौडेलले साँझ शीतल निवासमा विशेष कार्यक्रम आयोजना गर्नेछन्। यस्तै, नारायणहिटी दरबार अगाडिको सडकमा साँझ सांगीतिक कार्यक्रम आयोजना हुनेछ, जसमा प्रधानमन्त्री ओली पनि सहभागी हुने जनाइएको छ।
संविधान दिवस सात दशक लामो संघर्ष र बलिदानपछि, २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइन्छ। सरकारले यस अवसरमा राष्ट्रिय झण्डा फहराउन र दीपावली गर्न आग्रह गरेको छ।