© २०२३
संविधान दिवसमा शुभकामना: सभामुख र राष्ट्रिय सभा अध्यक्षको आह्वान
– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संविधान दिवसको अवसरमा देशविदेशका नेपालीहरूलाई छुट्टाछुट्टै सन्देश मार्फत शुभकामना दिएका छन्।
सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक-सामाजिक प्रणाली, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, र समानुपातिक समावेशीताको पालनामा सबैलाई प्रेरित गर्नुपर्ने बताए। उनले नेपालको संविधानलाई लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिबिम्ब भएको उल्लेख गर्दै यसलाई इमान्दारितापूर्वक पालना गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरे।
त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रियाले प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग खोल्नुपर्ने बताएका छन्। संविधानको स्वामित्व र समयानुकूल सुधार आवश्यक रहेको भन्दै उनले सुधार र परिमार्जन स्वाभाविक भएको बताए।
संविधानसभा मार्फत विसं २०७२ असोज ३ गते जारी भएको संविधानको ऐतिहासिक उपलब्धिको सम्मानमा आज संविधान दिवस मनाइँदैछ।