© २०२३
२ असोज, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने निर्णय भएको बताएकी छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भट्टराईले यस ऐनको प्रक्रिया तिब्र बनाउन सरकार प्रतिबद्ध रहेको जानकारी गराइन्।
मन्त्री भट्टराईले शिक्षकलाई मासिक पारिश्रमिक दिनका लागि स्थानीय तहलाई अनुरोध गर्दै भनिन्, “हामी विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्ने प्रक्रिया अघि बढाइरहेका छौं। शिक्षकलाई मासिक पारिश्रमिक प्रदान गर्न सबै स्थानीय तहलाई आग्रह गर्न चाहन्छौं।”
उनले नेपालमा सञ्चालित आधारभूत र माध्यमिक विद्यालय, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरुलाई व्यवस्थित गर्दै लैजानका लागि सरकारको योजना रहेको पनि जानकारी दिइन्।
मन्त्री भट्टराईका अनुसार, नेपालमा सामुदायिक विद्यालयमा स्थायी शिक्षकको संख्या ९४,७५९ र अस्थायी शिक्षकको संख्या १८,३७६ छ। राहत दरबन्दीमा ४३,०४२ र विषय शिक्षामा ४,१०९ शिक्षक रहेका छन्।
अर्को योजना अन्तर्गत, मन्त्री भट्टराईले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाउने र रैथाने तथा पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने प्रारुप तयार गरिएको जानकारी दिइन्। स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा प्रस्तुत गर्ने योजना सरकारले अघि बढाउने बताइन्।