© २०२३
२ असोज, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा उल्लेख्य सुधार ल्याउनका लागि नीतिगत पहल सुरू भएको जानकारी दिएका छन्। उनले सो सुधारको लक्ष्य ७० प्रतिशत उतीर्ण दरको रहेको बताए।
राष्ट्रिय शिक्षा दिवस, २०८१ का अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा पछाडि रहेको अवस्थालाई सुधार्नका लागि सरकार संलग्न रहेको उल्लेख गरे। उनले अनलाइन कक्षाका माध्यमबाट विद्यार्थीलाई मुख्य विषयहरूमा ध्यान केन्द्रित गरेर एसइईको नतिजा सुधार्नका लागि पहल गरिएको जनाए।
प्रधानमन्त्री ओलीले भने, “हामीसँग अब कुरा गरेर मात्र बस्ने समय छैन। हाम्रो शिक्षा, ज्ञान, सभ्यता, र संस्कृति सम्पन्न भूमिमा शिक्षा सुधार गर्न अत्यन्त आवश्यक छ। ७ सालको प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षा विकासको लहर आएको थियो, तर हामी त्यसको अपेक्षित गति हासिल गर्न सक्नैनौं। गणतन्त्रको यथार्थता अनुसार, हामीले शिक्षा क्षेत्रमा पछाडि नपर्नु हाम्रो दायित्व हो।”
उनले शिक्षा, विज्ञान, सीप, र मौलिकता हासिल गर्ने क्याम्पस र विद्यालयलाई सम्मान गर्दै, शिक्षाकर्मीलाई विश्वस्तरको प्रतिस्पर्धामा सक्षम नागरिक उत्पादन गर्न आग्रह गरे।
साथै, प्रधानमन्त्री ओलीले उच्च शिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यालय र संस्थाहरुलाई पुरस्कार वितरण गरे। बुधबारको कार्यक्रमको दौरान “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने आदर्श वाक्यको साथमा शिक्षा दिवस मनाइएको छ।
पछिल्ला वर्षहरूमा असोज २ गतेलाई शिक्षा दिवसको रूपमा मनाउने परिपाटी अपनाइएको हो, जुन प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा जारी गरिएको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दिनलाई आधार मान्दै गरिएको हो।