२ असोज, काठमाडौं — राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनका पश्चगामी सोच र तर्कहरूलाई स्वीकार्य मान्न नसक्ने बताएका छन्। बुधबार संविधान दिवसको अवसरमा आयोजित ‘संविधान कार्यान्वयनको वर्तमान अवस्था’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले संविधान कार्यान्वयनको क्रममा पछाडि फर्कने सोचलाई संविधान निर्माणकर्ताहरूले मान्य नगर्ने स्पष्ट पारे।
अध्यक्ष दाहालले संविधानको कार्यान्वयन गर्दा सुधार र परिमार्जन स्वाभाविक प्रक्रिया भएको बताएका छन्। “संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार गर्नु आवश्यक छ, तर यी प्रक्रियाहरूले प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्नुपर्छ। पश्चगामी सोचका साथ आउने तर्क संविधान निर्माण गर्नेहरूको सोचसँग मेल खाँदैन,” उनले भने।
संविधान कार्यान्वयनका लागि आवश्यक कानुनको अभावले संविधान र संघीयता कार्यान्वयनका चुनौती थपिएको भन्दै अध्यक्ष दाहालले यस समस्यालाई समयमै समाधान गर्न आग्रह गरे। संघीयताका कारण जनतालाई पाउने सेवा र सुविधामा समस्या देखिएकोले त्यसको समाधान गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ।
अध्यक्ष दाहालले सरकार, संसद र अन्य जनप्रतिनिधिहरूलाई संविधान कार्यान्वयनका कार्यमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए