© २०२३
२ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्।
राजनीतिक प्रस्ताव पेश, अनुमोदन, केही अभियानको घोषणा, महाधिवेशनको मिति र स्थानको घोषणा ४:३० बजेबाट सुरु भई एक घण्टामा सकिने गरी कार्यतालिका बनाइएको छ।
सभापति लामिछानेको प्रतिवेदन पेश लगत्तै भेलाको समापन गरिने भएकाले प्रतिनिधिहरूले प्रतिवेदनमाथि कुनै सुझाव राख्न पाउने छैनन्।
भेलामा सात प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन माथि सामूहिक छलफलको कार्यतालिका बुधबार विहान ७ बजे देखि ११ बजे सम्मका लागि तोकिएको थियो। दस्तावेजमा आधारित प्रश्नोत्तर ११:४५ बजे देखि २:४५ बजे सम्मका लागि समय निर्धारण गरिएको छ।
“कार्यतालिकामा सभापतिको प्रतिवेदनमा बोल्न समय नपाउने गरी बनाइएको छ। तर, सहभागीहरूले छलफल गर्न दिनुपर्ने कुरा उठेको छ। के हुन्छ भन्ने कुरा हामीलाई जानकारी दिईएको छैन,” एक प्रतिनिधिले अनलाइनखबरसँग भने।
सभापति बाहेक अन्यले पेश गरेका प्रतिवेदनको आवश्यक संशोधनको समय ३:१५ बजे देखि ४:३० बजे सम्मका लागि छुट्याइएको छ। त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन पेश हुने र अनुमोदन गर्ने कार्यतालिका बनाइएको छ।