© २०२३
काठमाडौं, भदौ ३१, २०८१ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद अवरोध नगर्ने निर्णय गरेको छ। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको संसद सम्बोधनलाई अवरोध नगर्ने बताएका छन्। उनले भने, “हामी हिंसा शब्द हटाउनुपर्ने सोचमा छौँ। तर प्रधानमन्त्री विदेश जानुअघि संसदमा बोल्न अवरोध गर्दैनौँ। हाम्रो कुरा राखेर अवरोध हटाउँछौँ।”
यसअघि, माओवादी केन्द्रले संसदमा एमाले सचिव योगेश भट्टराईले माओवादी हिंसा भन्ने शब्दको प्रयोगविरुद्ध आपत्ति जनाएको थियो। सभामुख देवराज घिमिरेले सो शब्दलाई संसदको रेकर्डबाट नहटाउने निर्णय गरेपछि माओवादीले संसद अवरोध गरेको थियो। यस कारण आइतबारको संसद बैठक पनि बस्न सकेको थिएन।
संसदको अधिवेशन सोमबार राति १२ बजे अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ, त्यसैले आजको प्रतिनिधि सभा बैठक अन्तिम हुनेछ।