© २०२३
आजको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५०.७३ अंक अर्थात् १.८८ प्रतिशतले घटेर २६३७.७९ को बिन्दुमा पुगेको छ। लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो। तर, बजारको अस्थिरताले आइतबार पुनः गिरावट ल्याएको छ।
वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा आज उच्च गिरावट देखिएको छ। वित्त समूह ३.५३ प्रतिशत र होटल तथा पर्यटन समूह ३.६८ प्रतिशतले घटेको छ। बैंकिङ ०.९३ प्रतिशत, विकास बैंक २.५१ प्रतिशत, जलविद्युत् १.४८ प्रतिशत, लगानी २.८० प्रतिशत र जीवन बीमा समूह २.७४ प्रतिशतले घटेका छन्। त्यस्तै, उत्पादन तथा प्रशोधन समूह १.७९ प्रतिशत, लघुवित्त २.८८ प्रतिशत, म्युचुअल फन्ड १.६१ प्रतिशत, निर्जीवन बीमा २.१६ प्रतिशत, व्यापार ०.९० प्रतिशत र अन्य समूह २.२३ प्रतिशतले घटेका छन्।
यसैबीच, आज विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री गरिएको छ। यस कारोबार रकमको कुल मान रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौ सय ५७ पुगेको छ, जुन पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो।
कारोबार रकमका आधारमा आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६४ करोड ३८ लाख ६६ हजार सात सय ८० बराबरको शेयर खरिदबिक्री भएको छ। शेयर सङ्ख्याका आधारमा सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडको नौ लाख ३४ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच भएको छ।
आज २ सय १९ कम्पनीको शेयर मूल्य घटेको छ भने २४ वटाको मूल्यमा वृद्धि भएको छ। रिभर फल्स पावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जबकि थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।