आइतबार, भदौ ३०, २०८१ – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन्। दुई दिनअघि जमानतमा जेलबाट रिहा भएका केजरीवालले आम आदमी पार्टीको कार्यालयमा बोल्दै मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णय सार्वजनिक गरे।
केजरीवालले भने, “भाजपाले मलाई बेइमानी र भ्रष्टाचारको आरोप लगाएको छ। अब जनताको अदालतमा मेरो इमानदारीको फैसला हुनेछ। दुई/तीन दिनमा विधायकहरूको बैठकमा नयाँ मुख्यमन्त्री चयन गरिने छ। चुनावसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैनु।”
यसैबीच, भाजपाले केजरीवालको घोषणालाई ‘पीआर स्टन्ट’को आरोप लगाएको छ। भाजपाका प्रवक्ता प्रदीप भण्डारीले एएनआइसँग कुरा गर्दै भने, “यो अरविन्द केजरीवालको पीआर स्टन्ट हो। दिल्लीका जनतामाझ उनको इमानदार छवि अहिले भ्रष्टाचारको छविमा परिणत भइसकेको छ।” उनले आज आम आदमी पार्टीलाई देशभर कट्टर भ्रष्टाचारी पार्टीका रूपमा चिनिन थालेको दाबी गरे।