३० भदौ, धनगढी – कैलाली जिल्लामा बेपत्ता बालकसहित दुई जनाको शव फेला परेको छ। भजनी नगरपालिका र टीकापुर नगरपालिकामा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार, टीकापुर नगरपालिका-६ बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी शनिबार साँझदेखि हराइरहेका थिए र आइतबार बिहान उनी घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत भेटिएका छन्। चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
त्यस्तै, भजनी नगरपालिका-८ गुडचौरामा ५५ वर्षीय जयराम डगौरा मृत भेटिएका छन्। प्रहरीका अनुसार, शनिबार साँझ पसलबाट घर फर्किने क्रममा पानी जमेको ठाउँमा लड्दा डगौराको मृत्यु भएको हुन सक्ने अनुमान छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।