३० भदौ, चितवन – श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं-भरतपुर व्यावसायिक उडान सुरु गर्ने योजना अघि सारेको छ। उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिएका छन्।
श्री एयरलाइन्सले ७२ सिटे एटिआर विमान भरतपुर ल्याउने तयारी गरेको छ। यसअघि, गत असार ६ गते श्री एयरलाइन्सले काठमाडौं-भरतपुर परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको थियो। परीक्षण उडानको सफलतापछि अब व्यावसायिक उडान अनुमति लिन पहल भइरहेको प्रबन्धक मानन्धरले उल्लेख गरे।
मानन्धरका अनुसार, दशैंअघि नै उडान सुरु गर्न श्री एयरलाइन्सले तयारी गरेको छ र भरतपुरका यात्रुलाई सहज सेवा दिने योजना बनाएको छ। “दशैंअघि नै हामीले भरतपुरवासीलाई सेवा दिन पाउँछौं भन्ने आशा गरेका छौं,” उनले भने।
भरतपुर विमानस्थलमा अहिले बुद्ध एयरको ४२ सिटे जहाजले उडान गर्दै आएको छ, जहाँ एकतर्फी भाडादर लगभग ४७ सय रुपैयाँ रहेको छ। श्री एयरलाइन्सको ठुलो जहाज सञ्चालनमा आएपछि भाडा घट्ने र यात्रीलाई थप सुविधा मिल्ने अपेक्षा गरिएको छ।