काठमाडौं, भदौ ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा लाग्ने शुल्कलाई हटाउन पहल गर्ने बताएका छन्। हालको समयमा मोबाइल बैंकिङमा हुने लेनदेनमा अत्यधिक शुल्कको समस्या नागरिकहरूले उठाएपछि उनले यो विषयमा गम्भीर छलफल गर्ने वाचा गरेका हुन्।
प्रधानमन्त्री ओलीले नागरिकहरूले सामाजिक सञ्जालमार्फत यो समस्या आफ्नो ध्यानमा ल्याएको उल्लेख गर्दै सम्बन्धित अधिकारीहरूसँग छलफल गरेर समाधानको बाटो खोज्ने प्रतिवद्धता जनाए। उनले फेसबुकमार्फत सन्देश जारी गर्दै भने, “साना डिजिटल कारोबार नि:शुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु। तपाईंहरूले यसरी नै समस्याहरू जानकारी गराइरहनुहोला। सरकार यसमा काम गर्नेछ।”
हाल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई प्रति कारोबार ११ रुपैयाँ भन्दा बढी शुल्क लाग्ने गरेको छ, जसले साना डिजिटल व्यवसायीहरूलाई आर्थिक मर्कामा पारेको छ।