© २०२३
काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । टस हारेर बलिङ रोजेको नेपालले सुरुबाटै हङकङलाई दबाबमा राखेको थियो । नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए । स्पिनरद्वय ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट बाँडे । ललितले अन्तिम ओभरको चौंथो र पाचौं बलमा लगातार विकेट लिएका हुन् ।
हङकङ अलआउट भएकाले उनले ह्याट्रिकको प्रयास गर्न पाएनन् । कप्तान रोहित पौडेलले १३ ओभर मिडियम फास्ट बलरबाट गराएका थिए । ललितले ४ ओभरको कोटा पूरा गर्दा दिपेन्द्रले एक ओभर मात्र पाए । नेपालले उत्कृष्ट फिल्डिङ गर्दै हङकङका दुई ब्याट्सम्यानलाई रनआउट गरेको थियो ।
दिपेन्द्रले मिड विकेटबाट सटिक थ्रो मार्फत हङकङका कप्तान निजाकत खानलाई पेभिलियन फर्काए । गुल्शन झाले लङ अनबाट लामो थ्रो गर्दै अंशुनमानलाई रनआउट गरे । हककङका लागि अंशुमानले सर्वाधिक ३४ रन बनाए । उनले २६ बलमा १ छक्का र ४ चौका प्रहार गरेका थिए । खतरनाक ब्याट्सम्यान बाबर हायातलाई ललितले ६ रनमा आउट गरेपछि हङकङको ब्याटिङ धराशयी बनेको थियो ।