काठमाडौं — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धि गर्नुपर्ने आवश्यकताका बारेमा बताएका छन्। शनिबार आयोजित राष्ट्रिय बाल दिवस–२०८१ को कार्यक्रममा उनले बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा अझ बढी ध्यान दिनुपर्ने धारणा राखे।
मन्त्री साहले सरकारका विषयगत मन्त्रालयहरूले बालबालिकासम्बन्धी कानुन, नीति, योजना र कार्यक्रममार्फत लगानी गरिरहेको भएपनि यो पर्याप्त नभएको बताए। उनले भने, “आजका दिनमा बालबालिकाको संरक्षणमा नयाँ समस्या र चुनौतीहरू देखा परिरहेका छन्। बालबालिकाविरुद्ध हिंसा, यौन दुर्व्यवहार, बालश्रम, बाल विवाह, लैङ्गिक विभेद र अन्य असमानता जस्ता समस्याले उनीहरूको उज्ज्वल भविष्यमा नकारात्मक असर पुर्याइरहेका छन्।”
मन्त्री साहका अनुसार, बालबालिकाको भविष्य सुरक्षित र उज्ज्वल बनाउनका लागि यो समस्यालाई समधान गर्न थप लगानी र प्रयास आवश्यक छ। उनले थपे, “हरेक विकास र परिवर्तनसँग नयाँ चुनौतीहरू सिर्जना हुन्छन्। हामीलाई यी समस्याको समाधान गर्न ठोस र समन्वित प्रयास आवश्यक छ।”
सोही अवसरमा सांसद सीताकुमारी रानाले पनि बालबालिकासम्बन्धी समस्याहरूलाई ध्यानमा राख्दै राज्यले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिइन्। उनले बालबालिका यौन हिंसा र दुव्र्यवहारका घटनाहरू बढ्दै गएकाले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताइन्।
मन्त्री साहले सरकारी बजेट र नीतिहरूमा सुधार गर्दै बालबालिकाको सुरक्षा र विकासका लागि थप लगानी गर्ने सुनिश्चितता प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए। यसरी, बालबालिका र तिनीहरूको अधिकारलाई प्राथमिकता दिने नीतिहरूको कार्यान्वयनले भविष्यमा सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे।