© २०२३
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलकुदका लागि अपार सम्भावना रहेको भन्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न आह्वान गरेका छन्। एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौं आएका खेल पत्रकार तथा पदाधिकारीहरूलाई शीतल निवासमा स्वागत गर्दै उनले नेपाललाई खेलकुदको उर्वरभूमि भएको बताए।
राष्ट्रपति पौडेलले नेपालमा हाई अल्टिट्यूड खेल, साहसिक दौड, र अल्ट्रा म्याराथन जस्ता खेलहरूको प्रचुर सम्भावना रहेको बताउँदै नेपाली खेलाडीले एभरेष्ट म्याराथनमा गिनिज बुकमा नाम लेखाएर देशको गौरव बढाएको उल्लेख गरे। उनले पेरिस पाराओलम्पिकमा पलेशा गोवर्द्धनले तेक्वान्दोमा पदक जितेर नेपालको प्रतिष्ठा थप उचाइमा पुर्याएको पनि स्मरण गराए।
राष्ट्रपति पौडेलले सगरमाथा र बुद्धको जन्मस्थलको परिचयमात्र नभई, नेपाललाई विश्वमा खेलकुदको केन्द्रका रूपमा चिनाउनुपर्ने आवश्यकता रहेको औंल्याए। साथै, उनले उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने परम्पराको प्रशंसा गर्दै एआईपीएस एसियाले गरेको योगदानको सराहना गरे।