© २०२३
कञ्चनपुर – महाकाली नदीमा दाउरा निकाल्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। भीमदत्त नगरपालिका-१२ का १८ वर्षीय सौरभ दमाई र १५ वर्षीय अबी दमाई नदीबाट दाउरा निकाल्ने क्रममा बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सौरभको शव झोलुङ्गे पुल नजिक फेला परेको छ। अबी दमाईको खोजी कार्य भने अझै जारी रहेको प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिएका छन्।
तीन दिनदेखि सुदूरपश्चिममा भएको भारी वर्षाका कारण महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेकोले खोजी कार्यमा कठिनाइ उत्पन्न भइरहेको छ।