विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदच्युत गर्ने योजनाबाट पछि हट्न सक्ने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा उनले उपसभामुखले गरेको गल्ती पद गुमाउने स्तरको नभएको स्पष्ट पारे।
प्रचण्डले उपसभामुख रानालाई इमानदार जनजाति महिला भन्दै, टेक्निकल गल्तीका कारण हटाउन उचित नहुने बताउँदै सत्तारुढ दलहरू आफैं पछि हट्न सक्ने अनुमान गरे। कांग्रेसले उपसभामुखको राजीनामा माग गरे पनि प्रचण्डले यो कदम आवश्यक नभएको अडान राखे।
साथै, प्रचण्डले संसदमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेर दिएको अभिव्यक्ति विवादास्पद रहेको र यस विषयले संसद चल्न नसक्ने स्थिति उत्पन्न गरेको पनि उल्लेख गरे।