२९ भदौ, धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ३१ भदौमा नयाँ बजेट ल्याउने घोषणा गरेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उक्त मितिमा बजेट प्रस्तुत गरिने जानकारी दिए।
मुख्यमन्त्री शाहले भने कि, चालु वर्षको बजेटलाई गत असार १ गते प्रदेश सभामा पेस गरिएका बजेटको सामान्य पुनरावलोकन गर्दै ल्याइनेछ। “संवैधानिक र कानुनी प्रक्रियामा रही बजेट ल्याइनेछ,” उनले भने। यसअघिको नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकोले त्यसैको आधारमा बजेट प्रस्तुत हुनेछ।
बजेट बनाउने मापदण्ड अनुसार, २५ लाखभन्दा माथिका योजनाहरू सिलिङ कायम गरी चयन गरिनेछ। कम बजेट विनियोजन गर्नुपर्ने योजनाहरू सशर्त अनुदानको रूपमा स्थानीय तहलाई हस्तान्तरण गरिनेछ। प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र कार्यान्वयन हुने योजनाहरू उपभोक्ता समितिमार्फत नगरिने मापदण्ड लागू गरिने छ।
गत असार १ गते तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नेतृत्वमा प्रस्तुत बजेट राजनीतिक समीकरण परिवर्तनको कारण पारित हुन सकेको थिएन।