काठमाडौं, भदौ २८ — बैतडीमा लगातारको वर्षा र चट्याङका कारण तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध छ। ३३ केभी र ११ केभी प्रसारण लाइनमा आएको समस्याका कारण विद्युत् सेवा ठप्प भएको हो।
विद्युत् अभावले दैनिक कामकाज र सरकारी कार्यालयको कार्यसम्पादनमा अवरोध परेको छ। दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टका अनुसार, ‘बिजुली नहुँदा अन्धकारमा बस्नुपरेको छ, मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ।’ उनले फोनको चार्ज नभएको कारण सञ्चारसमेत अवरुद्ध भएको बताए।
नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार, लगातारको वर्षाले समस्या उत्पन्न भएको जानकारी दिए। उनले भने, ‘लाइनको समस्या केही हदसम्म समाधान भएको छ, तर मुख्य फेडरबाट विद्युत् आपूर्ति चलिरहेको छैन। लगातारको वर्षाले नियमित सेवा सञ्चालनमा समस्या आएको छ।’
वर्षा बुधबार बेलुकादेखि निरन्तर जारी छ। मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा जारी रहने र बैतडीसहित सुदूरपश्चिमका अन्य छ जिल्लामा रेड जोनमा राखेको जनाएको छ। लगातारको वर्षासँगै सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले अनुरोध गरेका छन्। ‘यहाँ दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ। सबैलाई सतर्कता अपनाउन आग्रह छ,’ उनले भने।