© २०२३
२८ भदौ, काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालले शुक्रबारदेखि जलन उपचार सेवा पुनः सुरु गरेको छ। २०७२ सालको विनाशकारी भूकम्पपछि बन्द भएको बर्न वार्ड अब पूर्ण रूपमा सञ्चालनमा आएको छ। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार जलन उपचार केन्द्रमा १० जनरल बेड, ५ आइसियू बेड, र तीनवटा अप्रेशन थिएटर सञ्चालनमा ल्याइएका छन्।
नेपालमा जलनका बिरामीहरू, विशेष गरी गरिब र ग्रामीण क्षेत्रका मानिसहरू, ठूलो समस्यामा पर्दै आएका छन्। अब वीर अस्पतालले सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्दै जलनका गम्भीर बिरामीलाई रिफर गर्नु नपर्ने गरी उपचार गर्ने योजना बनाएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि जलनका बिरामीलाई १ लाख रुपैयाँसम्मको सहुलियत दिने आश्वासन दिएका छन्, जसले जलन उपचारमा ठूलो राहत पुर्याउने अपेक्षा गरिएको छ।