काठमाडौं – नर्वेका सांसदहरूको टोलीले नेपाल भ्रमण गर्दै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूसँग छलफल गरेको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको बैठकमा दुवै देशका सांसदहरूले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यबारे चर्चा गरे।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले यो पहिलो पटक भएको संसदीय बैठक भएको जानकारी दिए। बैठकमा संसदीय शासन प्रणाली, लोकतान्त्रिक प्रक्रिया, र साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्यका विषयमा कुराकानी भएको थियो।
सांसदहरूले लोकतन्त्र, मानवअधिकार, र सामाजिक न्यायका साझा मूल्यहरूमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। जलवायु परिवर्तन र दिगो विकास लक्ष्यहरू हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने विषयमा पनि छलफल गरिएको छ।
नर्वेका सांसदहरूले शान्ति स्थापनामा नेपालको योगदानको प्रशंसा गर्दै नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्ने इच्छा व्यक्त गरे। यस भ्रमणको नेतृत्व पूर्वविदेशमन्त्री र रक्षामन्त्री इने म्यारी एरिक्सन सोरेइडले गरिरहेकी छन्, जसको टोलीमा १४ सदस्यहरू छन्।