© २०२३
२८ भदौ, काठमाडौं – बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ। दुर्घटना आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको थियो, जहाँ रा १ झ २०० नम्बरको सरकारी गाडी सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो।
गाडीमा उपाध्यक्ष भुपेन्द्रा बुढासहित केही गाउँपालिकाका कर्मचारीहरु सवार थिए। बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ, भने अन्यको सनाखत हुन बाँकी छ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव शर्माले उपाध्यक्ष भुपेन्द्रा बुढा एक/डेढ हप्ता अघि काठमाडौं आएकी र काठमाडौंबाट फर्किने क्रममा दुर्घटनामा परेको जानकारी दिए। दुर्घटनास्थलमा उपाध्यक्षको आईडी कार्ड भेटिएको पुष्टि पनि भएको छ।
गाडी दुर्घटनापछि प्रहरी, नेपाली सेना, र सशस्त्र प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा खटाइएको थियो, तर अप्ठेरो भिरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो।