काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी उपलब्ध गराएको छ। आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा महानगरले श्रम बैंकमा आवद्ध नागरिकलाई रोजगारीमा समेटिएको जानकारी दिएको हो।
महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार यस आर्थिक वर्षमा ५२८ जनालाई महानगरपालिकाभित्र विभिन्न रोजगारीमा र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगार दिइएको हो। साथै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप १ हजार जनालाई रोजगार प्रदान गरिएको उनले जानकारी दिए।
यस वर्ष प्रदेश सरकारबाट शिफारिस भएर आएका ७१ जना कर्मचारीलाई पनि विभिन्न पदमा नियुक्त गरिएको छ। आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षा काठमाडौं प्लाजास्थित सभाहलमा विभागस्तरीय छलफलको क्रममा सम्पन्न भएको हो।
महानगरले श्रम बैंकमार्फत रोजगारलाई सशक्त रूपमा अघि बढाउँदै सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याइरहेको छ।