© २०२३
ललितपुर, २५ भदौ — ललितपुरको कोन्ज्योसोम गाउँपालिका-३ दलचोकीमा २१ वर्षीया प्रमिला भण्डारीलाई आफ्नी २३ महिनाकी छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले सोमबार प्रमिलालाई पक्राउ गरिएको जानकारी दिए।
एसपी सुवेदीका अनुसार, प्रमिला भण्डारीले साउन २४ गते अपराह्न ५ बजे आफ्नी छोरी पृन्सिका भण्डारीको हराएको भन्दै प्रहरीलाई जानकारी गराएकी थिइन्। तर, साउन २८ गते बिहान पौने ९ बजे सोही क्षेत्रको सिलिङ्गेबेसी आँपबोटमा रहेको ठोस्ने खोलामा पानीमा डुबिरहेको अवस्थामा बालिकाको शव फेला परेको थियो। शव पानीभित्र लत्रिएको रूखको हाँगामा अड्किएको अवस्थामा भेटिएको थियो।
प्रारम्भिक अनुसन्धानपछि शवलाई पाटन अस्पतालमा पोष्टमर्टमका लागि पठाइएको थियो। अनुसन्धानको क्रममा घटना शंकास्पद लागेपछि प्रहरीले थप सोधपुछ सुरु गरेको थियो। सोधपुछको क्रममा प्रमिलाले छोरीलाई हिर्काउँदा बेहोस भएको बताएकी थिइन् र त्यसपछि शवलाई खोलामा फालेको स्वीकार गरिन्।
एसपी सुवेदीका अनुसार, प्रमिलाको श्रीमानसँग केही दिनअघि विवाद भएको र विवादपछि श्रीमान् आफ्नै मामाघर गएका थिए। प्रमिलाले छोरीलाई दुई थप्पड हिर्काउँदा बेहोस भएको र त्यसपछि शवलाई खोलामा फालेको स्वीकार गरिन्।
प्रमिलामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत ललितपुरबाट पाँच दिनको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। यस सम्बन्धी अनुसन्धान प्रहरी वृत्त चापागाउँबाट भइरहेको प्रहरीले जनाएको छ।