२५ भदौ, काठमाडौं — बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई व्यावसायिक उडानबाट विदा दिएको छ। यो जहाजले १६ वर्षको सफल सेवापछि मङ्गलबार बिहान आफ्नो अन्तिम माउन्टेन फ्लाइट गरेको छ।
सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइट सेवा सुरु गरेको यो जहाज अब ह्याङ्गरमा राखिएको छ। बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष वाटर स्यालुटमार्फत यो जहाजलाई सम्मानजनक विदाई दिएका छन्।
एटिआर कम्पनीले उत्पादन गरेको यो जहाज ७० हजार साइकल पुरा गर्ने पहिलो जहाज बनेको छ। एटिआरका नियमअनुसार, ७० हजार साइकल पूरा गरेपछि व्यावसायिक उडान गर्न नसक्ने यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो।
नेपालमा यो जहाजले ४० हजार साइकल उडान गरेको छ। ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो। यो जहाजले १८ लाख यात्रुलाई सेवापूर्वक यात्रा गराएको बुद्ध एयरले जनाएको छ।
यात्रा सेवा र सुरक्षामा विशिष्ट योगदान पुर्याएको यो जहाजको विदाईले बुद्ध एयरको इतिहासमा एक महत्वपूर्ण अध्याय समाप्त भएको छ।