काठमाडौं — क्यानडामा आयोजना हुने आईसीसी विश्व क्रिकेट ‘लिग टु’ प्रतियोगितामा सहभागी हुन जाने नेपाली क्रिकेट टोलीको मंगलबार विशेष समारोहबीच बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका सचिव पारस खड्कालगायतका पदाधिकारीहरूले टोलीलाई बिदाइ गरेका हुन्। बिदाइ समारोहमा टोलीका मुख्य खेलाडी सन्दीप लामिछानेसहित अन्य खेलाडीहरूको उपस्थिति थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो। रिजर्भमा देव खनाललाई राखिएको छ, जबकि विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर रिजन ढकाल पनि टोलीमा समावेश छन्।
नेपालले क्यानडामा सेप्टेम्बर १६ र २२ मा क्यानडासँग, सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने तालिका छ। यस प्रतियोगितापछि नेपाल, ओमान, र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि आयोजना हुनेछ।