© २०२३
काठमाडौं — गायनसँगै समाजसेवामा पनि आनी छोइङ डोल्मा सक्रिय देखिएकी छन्। देशविदेशका सांगीतिक दौडाहामा व्यस्त रहँदै आनी अब ‘मेची-महाकाली उद्धार अभियान’मा संलग्न हुँदैछिन्।
असोज १५ गते प्रधानमन्त्री निवास बालुवाटारबाट सुरु हुने यो अभियान ४० दिनसम्म पूर्वदेखि पश्चिमसम्म चल्नेछ। प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने यस अभियानमा आनी र उनको टोलीले देशका विभिन्न क्षेत्रहरूमा पुग्नेछन्।
सामाजिक संस्था मानव सेवा आश्रमसँग मिलेर आनीले यस अभियानलाई अघि बढाउने बताएकी छन्। अभियानको उद्देश्य अशक्त, अपांग, विपन्न, र असहाय व्यक्तिहरूलाई उद्धार गरी औषधोपचार गर्ने, जीविकोपार्जनमा सहयोग गर्ने, र जनावरलाई पनि उद्धार गर्दै स्याहार र उपचार गर्ने छ।
गत वर्षको मेची-महाकाली अभियानले धेरैलाई नयाँ जीवन दिएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेकाे यस अभियानमा विशेषगरी उपचार, भोजन, र आश्रयमा सहयोग पुर्याइएको थियो।
‘यो अभियानमा धेरैजनाले सहभागी होऔं भन्ने मेरो अनुरोध छ,’ आनीले अनलाइनखबरसँग भनिन्। ‘यो प्रयासले सबैलाई खुशी ल्याउने विश्वास राख्छु। मानिसलाई राम्रो समाचार पढ्न पाउँदा खुशी लाग्छ, र म यो अभियानले सबैको मनमा सकारात्मक प्रभाव पार्ने आशा राख्छु।’
अभियानमा जोश र उत्साहले भरिएका युवाहरूको सहभागिता रहेको बताउँदै आनीले, यसबाट अभियानलाई सफल बनाउन आफूहरू निकै प्रेरित भएको जानकारी दिइन्।