© २०२३
२३ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल गृहमन्त्री रमेश लेखक मुख्य सचिव एकनारायण अर्याल दुवै मन्त्रालयका सचिवहरू र दुवै संगठनका प्रमुखसहित आज साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समय अनुकूल र वस्तुनिष्ठ बनाउनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा र सुशासन कायम गर्न तथा संगठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधा समेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गरेका छन्। ती दुवै कानुनलाई संशोधन गर्ने विधेयकको मस्यौदा रायका लागि गृह मन्त्रालयले अर्थमन्त्रालयमा पेश गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले आर्थिक र प्रशासनिक पक्षलाई अध्ययन गरेर छिटो विधेयक अघि बढाउन अर्थमन्त्रालयलाई निर्देशन दिएका हुन्। ती दुवै विधेयक संसदमा पेश गर्ने विषय सरकारको १०० दिनभित्रको प्राथमिकतामा परेको छ। छलफलमा अर्थमन्त्री पौडेलले विधेयकलाई समग्रतामा अध्ययन गरेर छिटो निष्कर्ष निकालिने बताएका छन भने गृहमन्त्री लेखकले प्रस्तावित विधेयक ल्याउँदा प्रहरी संगठनमा ऊर्जा थपिनुका साथै मुलुकको आर्थिक दायित्व बचत हुने समेत स्पष्ट पारे।