२२ भदौ, धुलिखेल — अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा आजदेखि थप दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। भक्तपुरस्थित सडक डिभिजन कार्यालयले सडक मर्मतलाई निरन्तरता दिन शुक्रबार र शनिबार टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो।
निर्माण कार्य समयमा सम्पन्न नहुँदा बर्खाको समयमा सडक जीर्ण भएपछि थप दुई दिन मालवाहक गाडी सञ्चालन रोकिएको कार्यालयले जनाएको छ। काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र तातोपानी नाका हुँदै तिब्बत जोड्ने यो मुख्य सडक भएकाले मर्मतकार्यलाई प्राथमिकता दिइएको हो।
डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले निर्माण कार्यलाई निरन्तरता दिन बिहीबार र शुक्रबार मालवाहक यातायात बन्द गर्ने निर्णय गरिएको बताए। यसअघि जेठमा पनि उक्त सडकखण्ड विस्तार कार्यका लागि दैनिक चार घण्टा यातायात बन्द गरिएको थियो।
सडकलाई १२ मिटर फराकिलो बनाई कालोपत्र गर्न लागेको हो। सडक बलियो बनाउन नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर सिमेन्ट बेस हाल्ने योजना रहेको छ। उक्त कार्यका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन गरिएको छ।