© २०२३
चितवन — चितवनको मेघौलीमा माछा मार्न गएका दुई व्यक्ति राप्ती नदीले बगाएर बेपत्ता भएका छन्। शुक्रबार अपराह्न भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जिव चौधरी र वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार नदीले बगाएपछि खोजीकार्य जारी छ। उनीहरू तीन जनाको समूहमा नदीमा पसेका थिए, जसमध्ये २८ वर्षीय रोहितकुमार चौधरी भने सुरक्षित रहेका छन्।
इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार, रोहितकुमारले जमुनाघाट नजिक आफ्ना दुई साथीहरूलाई नदीले बगाएको जानकारी दिएका थिए। सो जानकारीको आधारमा शुक्रबार रातिदेखि नै खोजी कार्य सुरु गरिएको थियो।
शनिबार बिहानैदेखि नेपाली सेना, स्थानीयबासी, र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको टोलीले हात्ती र मोटरबोटको सहायतामा खोजी अभियानलाई तीव्र पारेका छन्। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले पनि बेपत्ता व्यक्तिहरूको खोजीकार्य जारी रहेको बताएका छन्।
राप्ती नदीमा माछा मार्नका लागि निकुञ्जबाट लाइसेन्स लिनुपर्ने व्यवस्था छ। तर, स्थानीयहरूले प्रशासन र नेपाली सेनाको निगरानी छल्दै अनाधिकृत रूपमा निकुञ्जभित्र प्रवेश गर्ने र माछा मार्ने घटनाहरू बारम्बार हुने गरेका छन्।