© २०२३
बागलुङ, भदौ २१- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका क्षेत्रमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो। यसले गर्दा बुर्तिबाङदेखि पूर्वी रुकुमसम्मको खण्ड र बुर्तिबाङ–बागलुङ खण्डसमेत अवरुद्ध भएको छ, जसले यात्रुहरुलाई बीच बाटोमै अलपत्र पारेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।
लोकमार्ग अवरुद्ध भएपछि निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पालगायतका क्षेत्रबाट काठमाडौं, पोखरा र अन्य शहरतर्फ जाने यात्रुहरु बीच बाटोमै रोकिएका छन्। यस्तै, विभिन्न स्थानबाट तीज पर्व मनाउन गाउँ फर्किएका धेरै यात्रु पनि अलपत्र परेका छन्।
पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट छुटेका रात्रिकालीन बसहरु बुर्तिबाङमै रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले सडक मर्मत र खुलाउने काममा ढिलाइ हुने वडाध्यक्ष पौडेलले जानकारी दिए।
‘अविरल वर्षाका कारण धेरै ठाउँमा पहिरो गएकाले यातायात ठप्प भएको छ। साना खोला र नदिहरूमा बाढी आएको छ, जसले गर्दा लोकमार्गका विभिन्न खण्डमा समस्या थपिएको छ,’ उनले भने।