© २०२३
२० भाद्र २०८१ – उदयपुरको कटारी नगरपालिका–१० सोरुङछविसेस्थित एक घरमा बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस थापा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार, दुवैजनाको शव घरभित्र रगतले लतपतिएको अवस्थामा भेटिएको छ।
स्थानीयहरूको अनुसार, बालकको घाँटीमा धारिलो हतियारको घाउ रहेको देखिएको छ, र महिलाको शव घोप्टो अवस्थामा छ। यसले हत्याको संकेत गरिरहेको आशंका गरिएको छ।
स्थानीयले शवहरू भेटेपछि इलाका प्रहरी कार्यालय कटारीलाई सूचित गरेका थिए। घटनास्थलको भौगोलिक विकटता कारणले प्रहरी टोली घटनास्थलमा पुग्न सकिएको छैन र थप विवरण प्राप्त गर्न बाँकी रहेको डिएसपी चापागाईले जानकारी दिएका छन्। ‘घटनाको प्रकृति अहिले स्पष्ट छैन। इप्रका कटारीबाट टोली घटनास्थलमा खटाइएको छ, र अनुसन्धानपछि मात्रै थप विवरण प्राप्त हुनेछ,’ उनले भने।
मृतकका श्रीमान अशोक थापा विगत तीन वर्षदेखि भारतको दिल्लीमा अर्की श्रीमतीसँग बस्दै आएका छन्।