© २०२३
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताएका छन्। उनले ०८४ सालमा एमालेलाई मुलुककै प्रमुख शक्ति बनाउने दृढ उद्देश्य राखेको उल्लेख गरे। पोखरेलका अनुसार, लोकतन्त्रलाई सुदृढ बनाउन बलियो शक्ति अनिवार्य छ।
बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको कुराकानिमा पोखरेलले युवाहरूमा व्यापक निराशा छ र तत्काल रोजगारीको अवस्था नरहेको बताएका छन्। उनले सरकारलाई निराशा चिर्न र युवालाई रोजगार दिने दिशा मा काम गर्नुपर्ने उल्लेख गरे।
पोखरेलले एमाले र कांग्रेसको गठबन्धन सरकारको राजश्व वृद्धिमा सकारात्मक प्रभाव परेको दाबी गरे। साथै, उनले नेपालको मौलिक संस्कृतिमा भइरहेको अतिक्रमणको आलोचना गर्दै, यो कार्य अतिवादी दृष्टिकोणबाट भइरहेको बताएका छन्।
उनले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई असंसदीय राजनीति गरिरहेका भन्दै संसदभित्रको किचलोको कारण भनेका छन्। ‘प्रतिपक्ष दलका नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिनु लोकतान्त्रिक सोचको प्रतिकूल छ,’ पोखरेलले भने।
काठमाडौंका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिचको टकरावलाई लिएर पोखरेलले बालेनले उक्त विषय प्रधानमन्त्रीसँग जोड्न आवश्यक नभएको बताएका छन्।