© २०२३
२० भदौ, काठमाडौ, भव्य समारोहकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ। बाटोको दुरवस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै यातायात व्यवसायीले बसपार्कमा सवारी लैजान आनाकानी गर्दा समस्या देखिएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाएर बसपार्कको शुभारम्भ गरेका थिए। २३ वर्षपछि बागलुङ नगरपालिका–४ दावगह्मा निर्माण गरिएको आधुनिक बसपार्क सञ्चालनमा आएको हो।
तर व्यवसायी विष्णुराज पन्तका अनुसार, बसपार्कको सुरक्षाको अभावका कारण व्यवसायीले बस त्यहाँ राख्न नसकेको बताए। ‘बस ठोकिन्छ, कसरी त्यहाँ जान्छ,’ उनले भने, ‘नगरले सुरक्षा दिनुपर्छ, त्यसपछि मात्र ठूला सवारी साधन गन्तव्यमा पुग्छन्।’
बसपार्क सञ्चालनमा ल्याएको बागलुङ नगरपालिकाले व्यवसायीसँग सम्झौताको प्रक्रिया बाँकी रहेको र केही दिन लाग्ने जानकारी दिएको छ। नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘व्यवसायीसँग सम्झौता भएको छैन, छलफलमै छौँ। एक दुई दिनमा काम टुङ्गो लाग्छ। एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन।’
श्रेष्ठले बसपार्कलाई दीगो बनाउन यातायात व्यवसायीसँग लिखित सम्झौता गरेर अघि बढ्ने योजना रहेको बताए। २३ वर्षपछि निर्माण प्रक्रिया सुरु भएको बसपार्कका लागि नगर विकास कोषबाट ८ करोड ७० लाख ऋण लिइएको थियो।
बसपार्कमा ८० ठूला बस र १० माइक्रोबस एकैसाथ राख्न सकिने क्षमता छ।