© २०२३
काठमाडौं, १९ भदौ — प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकाय (फेम्बोसा) को १२औं सम्मेलनको उद्घाटन गर्दै निर्वाचनलाई जनताको आवाजको प्रतिबिम्ब मान्नुपर्ने र मताधिकारको सम्मान हरेक राज्यको दायित्व रहेको बताए । उहाँले जलवायु परिवर्तन, बसाईँसराई, र सामाजिक सञ्जालका चुनौतीबीच निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन ।
प्रधानमन्त्रीले नागरिकले जहाँ भए पनि मताधिकार प्रयोग गर्न पाउनुपर्ने र त्यसका लागि अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै जलवायु परिवर्तनका चुनौतीबीच लोकतन्त्रलाई जीवन्त राख्न आवश्यक रहेको औंल्याए।
उहाँले सामाजिक सञ्जालले मतदातालाई सुसूचित गर्नुका साथै गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने खतरा पनि रहेको भन्दै, विगतका कमजोरीबाट सिक्दै पारदर्शी र जवाफदेही निर्वाचन गराउन जोड दिए।
उद्घाटन समारोहमा भूटानका निर्वाचन प्रमुख दासो सोनाम तोब्गेले नेपालका निर्वाचन प्रमुख दिनेशकुमार थपलियालाई फेम्बोसा नेतृत्व हस्तान्तरण गर्नुभयो। सम्मेलनमा भारत, श्रीलङ्का, माल्दिभ्स, भूटानलगायतका मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधिहरू सहभागी थिए।