© २०२३
काठमाडौं, १९ भदौ २०८१: जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले संघीय संसदमा अवधी समाजका गहिरो समस्याहरूलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खानले अवधी समुदायको शिक्षा, स्वास्थ्य, आर्थिक स्थिति, र सामाजिक सुरक्षाको अभावबारे गम्भीर चिन्ता व्यक्त गर्दै तुरुन्त समाधानको माग गरेका छन्।
सांसद खानले आफ्नो सम्बोधनमा भने, “अवधी समाजले गणतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएको छ। तर, आजको दिनमा पनि उनीहरू राज्यको कुनै पनि तहमा समानुपातिक रूपमा समावेश छैनन्, जसले गर्दा उनीहरूलाई उचित प्रतिनिधित्व र अधिकारबाट बञ्चित गरिएको छ।” उनले थपे, “आजको समयमा पनि अवधी समाज शैक्षिक, आर्थिक, सामाजिक, र राजनीतिक रूपमा धेरै पछाडि छ। यो स्थिति परिवर्तन गर्न सरकारले तुरुन्त कदम चाल्नुपर्छ।”
खानले अवधी समाजको शिक्षा, स्वास्थ्य, र आर्थिक स्थितिमा सुधार गर्न विशेष कार्यक्रमहरूको आवश्यकता औंल्याए। उनले अवधी भाषामा शिक्षा उपलब्ध गराउन र स्थानीय पाठ्यक्रममा अवधी भाषा समावेश गर्नुपर्ने माग गरे। उनले भने, “अवधी समाजमा शिक्षा र सीपको अभावले गर्दा बेरोजगारी, गरिबी, र सामाजिक अपराधको स्तर बढिरहेको छ। यसलाई रोक्नका लागि सरकारले व्यापक शिक्षा र सीप तालिम कार्यक्रम ल्याउनुपर्छ।”
सांसद खानले अवधी भाषाको प्रयोगलाई प्रोत्साहित गर्नका लागि सरकारी कार्यालयहरूमा अवधी भाषाको प्रयोग सुनिश्चित गर्न पनि जोड दिए। उनले लोक सेवा आयोगको परीक्षा अवधी भाषामा पनि लिनुपर्ने माग गर्दै भने, “अवधी समाजका विद्यार्थीहरू भाषागत समस्याका कारण धेरै अवसरबाट बञ्चित भइरहेका छन्। यसलाई सुधार्न हामीले अवधी भाषामा परीक्षा दिन पाउने अधिकारको माग गर्छौं।”
सांसद खानले आफ्नो सम्बोधनको अन्त्यमा सरकारलाई चेतावनी दिँदै भने, “अवधी समाजको समस्यालाई बेवास्ता गर्न अब हुँदैन। हामी अवधी समुदायको गरिमा, अधिकार, र अवसरको सुनिश्चितताका लागि सधैं आवाज उठाइरहनेछौं। सरकारले समयमै यी मुद्दाहरूमा ध्यान दिएन भने हामी थप कडा कदम चाल्न बाध्य हुनेछौं।”