© २०२३
काठमाडौं, १९ भदौ २०८१: प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा निर्माणाधीन पुलको ढिलासुस्ती र रौतहटको गौर अस्पतालमा भएको अश्लील गतिविधि विरुद्ध आक्रोशपूर्ण प्रतिक्रिया जनाएका छन्।
पूर्व पश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया—निजगढ सडकखण्डमा पर्ने दुधौरा नदीको पुल निर्माण कार्य आजको अवस्थामा छवाडोमा पुगेको छ। सम्झौताअनुसार तीन वर्षमा निर्माण सम्पन्न गर्ने कुरा भए पनि ६ वर्ष बितिसक्दा पनि पुलको निर्माण पूरा हुन सकेको छैन। निर्माण कम्पनीको भण्डारमा रकमको अभावका कारणले गर्दा पुल निर्माणको कार्य अड्किएको छ र यसले जनजीवनमा गम्भीर असर परेको छ।
वर्षा भइरहँदा बाढीले गाडी र पैदल यात्रुहरूलाई बगाउने जोखिम उच्च रहेको छ भने रातिको समयमा यात्रा गर्दा यात्रुहरूलाई वारी र पारीको बीचमा बास बस्नुपर्ने परिस्थिति उत्पन्न भएको छ। यो समस्याले जनधनको क्षति मात्र नभई, जनतामा निराशा र सरकारप्रति असन्तोषको भावना बढाएको छ। यद्यपि यो समस्याबारे पत्रपत्रिका र मिडियामा धेरै समाचार आएका छन्, तर सरकारको ढिलासुस्ती अझै जारी छ।
आजको प्रतिनिधि सभा बैठकमा कृष्णकुमार श्रेष्ठले यो मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, पुल निर्माण कार्यको तत्काल त्वरित समापनको माग गरेका छन्।
यसका साथै, रौतहट जिल्लाको गौरस्थित प्रादेशिक अस्पतालमा मेसुले तीज पर्वको नाममा जाँडरक्सी र नाचगानको अश्लील गतिविधि गरेको मुद्दा पनि उठाएका छन्। यस्तो संवेदनशील स्थानमा विकृतीलाई प्रोत्साहन दिनु, श्रेष्ठले भने, अत्यन्त निन्दनीय छ। मेसुले गरेको यो व्यवहारले अस्पतालको गरिमा माथि प्रश्न उठाएको छ र तत्काल कारवाहीको माग गरिएको छ।