© २०२३
१९ बागलुङ, भदौ — बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा २३ वर्षपछि बसपार्क निर्माण र सञ्चालन भएको छ। सुदेशचन्द्र राजभण्डारी र अन्य ४० स्थानीय बासिन्दाले २०५८ सालमा बसपार्क निर्माणका लागि धान फल्ने खेतसहित ५९ रोपनी जग्गा दान गरेका थिए। लामो समयको प्रतीक्षापछि अन्ततः बसपार्क सञ्चालनमा आएको देख्दा स्थानीय बासिन्दाहरूमा उत्साह छाएको छ।
चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्कको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन्। अब धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीहरूले बसपार्कबाट सेवा सञ्चालन सुरु गरेका छन्। ७० बस र १०० वटा कार पार्किङको क्षमता भएको यस बसपार्कमा २० वटा व्यापारिक सटर पनि समावेश छन्।
जग्गा दान गरेर बसपार्क निर्माणको सपना देख्ने सुदेशचन्द्र राजभण्डारीले लामो समयपछि भए पनि आफ्नो योगदानले स्थानीय विकासमा महत्वपूर्ण भूमिका खेलेको देख्दा खुसी लागेको बताए। “बसपार्क बनाउन १४ रोपनी जग्गा दान दिने बुबा आमा अहिले नभए पनि उहाँहरूको सम्झना सदैव रहिरहनेछ,” उनले भने।
जग्गादाताहरूलाई बसपार्क उद्घाटनको अवसरमा विशेष सम्मान गरिएको थियो। बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणबाट ९ करोड रुपैयाँ खर्च गरेर आधुनिक बसपार्क निर्माण गरिएको जानकारी दिए। उनले बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ता गर्ने तयारी भइरहेको बताए।
बसपार्क निर्माणपछि बाँकी रहेको जग्गामा १२७ घडेरी बनाउने योजना रहेको छ। अहिले दायाँ–बायाँ सडक कट्टा गरेर नक्शाङ्कनको अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। बसपार्क सञ्चालनमा आएसँगै दाबगराको विकासमा उल्लेखनीय प्रगति हुने आशा गरिएको छ।