© २०२३
राँझा (बाँके), १७ भदौ २०८१ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालगन्जमा रहेको एकीकृत जाँचचौकी (आइसिपी)लाई थप प्रभावकारी बनाउन विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। लुम्बिनी प्रदेशस्तरीय माओवादी केन्द्रको प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालगञ्ज आएका अध्यक्ष दाहालले आज बिहान आइसिपीको अवलोकन गरे।
अवलोकनपछि उनले भने, “नेपालगन्ज आइसिपी राम्रो संरचना हो, यसको उपयोग र प्रभावकारितामा हामीले सुधार गर्न आवश्यक छ। यसका लागि सबैले मिलेर काम गर्नु जरुरी छ।”
दाहालले नेपालको सबै सिमानामा आइसिपी निर्माण गर्ने सरकारी नीति रहेको पनि उल्लेख गरे। उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीबाट नेपालगन्ज आइसिपीको संयुक्त रूपमा उद्घाटन गरेको सम्झना गर्दै यसलाई प्रभावकारी बनाउन आफू सधैं प्रतिबद्ध रहेको बताए।
नेपालगन्ज भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले दाहाललाई आइसिपीको कार्यसम्पादन, भन्सार, बैंक, क्वारेन्टिन, र सुरक्षाका लागि निर्माण गरिएका संरचनाबारे जानकारी दिए।
यो आइसिपी ८८ बिघा क्षेत्रमा फैलिएको छ र यसको निर्माणमा भारत सरकारको १ अर्ब ४७ करोड भारु खर्च भएको छ। यसमा भन्सार कार्यालय, बैंक, क्वारेन्टिन सेवा, र सुरक्षाकर्मीहरूको आवासगृह पनि निर्माण गरिएको छ। कार्यक्रममा पूर्वअर्थमन्त्री वर्षमान पुन लगायतका नेताहरूको उपस्थिति रहेको थियो।